`

माछा बजारमा आवश्यक भौतिक संरचना निर्माण

25 दिन पहिले प्रकाशित

Khojkhulasa

`

किशोर मंडल

सबैला नगरपालिका–२ अन्तर्गत माछा बजारमा आवश्यक भौतिक संरचना निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न गरिएको छ। वडा नं. २ का वडा अध्यक्ष मुकेश पूर्वेको अगुवाइमा बजार क्षेत्रमा खानेपानी, शौचालय तथा माटो पुर्ने कार्य सम्पन्न भएको हो। उक्त बजार रहेको जग्गा रामप्रसाद माध्यमिक विद्यालय सबैलाकै स्वामित्वमा रहेको हो। बजार व्यवस्थापनका लागि आवश्यक बजेट विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ। सो कार्यमा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र यादवको विशेष सहयोग रहेको छ। प्रधानाध्यापक यादवका अनुसार यो कार्य विद्यालयको सम्पूर्ण शिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागिता र सहयोगबाट सम्भव भएको हो। यसअघि माछा बजार अत्यन्त फोहोर र अस्वस्थकर रहेको स्थानीयले स्मरण गरेका छन्। वर्षायाममा बजार क्षेत्रमा पानी जम्ने, हिलो हुने तथा सरसफाइमा समस्या देखिने गरेकोमा अब भने खानेपानी र शौचालय सुविधा सहित सफा तथा व्यवस्थित वातावरण सिर्जना भएको छ। सुधार कार्य सम्पन्न भएपछि व्यापारी तथा उपभोक्ताहरूले सहज र व्यवस्थित वातावरणमा कारोबार गर्न पाएको अनुभव व्यक्त गरेका छन्। साथै, स्थानियवासीले विद्यालय व्यवस्थापन समिति, अध्यक्ष मुकेश पूर्वे, प्रधानाध्यापक सुरेन्द्र यादव तथा विद्यालयका शिक्षक–अभिभावकप्रति आभार व्यक्त गरेका छन्। प्रधानाध्यापक यादवले आगामी दिनमा विद्यालयका सटरहरू भाडामा उपलब्ध गराई विद्यालयको आयवृद्धि गर्ने योजनामा विद्यालय अग्रसर रहने जानकारी दिनुभयो। यस कार्यमा वडा अध्यक्ष मुकेश पूर्वेको निरन्तर सहयोग रहने पनि बताइएको छ।

`
12 comments