जनज्योति सहकारीले वित्तीय क्षेत्रमा मार्यो ठूलो फड्को, सदस्यको बचत सुरक्षालाई उच्च प्राथमिकता
9 घन्टा पहिले प्रकाशित
Khojkhulasa
धनुषाको हंसपुर नगरपालिकामा वित्तीय क्षेत्रमा क्रियाशील सहकारी संस्थाहरूमध्ये जनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उल्लेखनीय प्रगति हासिल गर्दै ठूलो फड्को मारेको सहभागी वक्ताहरूले बताएका छन्।
संस्थाको आइतबार बेल्ही चोकमा सम्पन्न १५औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा वक्ताहरूले सहकारीको मूल मर्म सहकार्य, सहअस्तित्व, समानकार्य र सामूहिक प्रयास भएको उल्लेख गर्दै सहकारी संस्थाहरूले सदस्यको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। सहकारीको आर्थिक कारोबार र प्रगतिले हंसपुर नगरपालिकाको वित्तीय क्षेत्रमा संस्थाले उल्लेखनीय स्थान बनाउँदै गएको साधारण सभामा सहभागी वक्ताहरूले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्वराजदूत प्रा.डा. महेन्द्र सिंहले बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए। नियमित बचतले व्यक्तिको आर्थिक अवस्था सुदृढ बनाउनुका साथै भविष्यमा आर्थिक सम्पन्नता हासिल गर्न सहयोग पुग्ने उनको भनाइ थियो। उनले जनज्योति सहकारीले समुदायमा गुणस्तरीय सेवा प्रवाहलाई प्रमुख लक्ष्य बनाई सदस्यहरूको बचत सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै विभिन्न प्रकारका बचत योजनाहरू सञ्चालन गरिरहेको बताए।
साधारण सभामा संस्थाका प्रबन्धक मुकुन्द कुमार शर्माले वार्षिक प्रतिवेदन तथा वरिष्ठ प्रबन्धक प्रकाश झाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाको कुल सम्पत्ति २ करोड ९४ लाख १ हजार ३०० रुपैयाँ पुगेको छ भने आर्थिक वर्षको खुद नाफा १२ लाख ९१ हजार १५३ रुपैयाँ रहेको छ।
संस्थाको आइतबार बेल्ही चोकमा सम्पन्न १५औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक विवरणअनुसार संस्थाको कुल ऋण लगानी २ करोड ४९ लाख ८६ हजार ४०९ रुपैयाँ ५१ पैसा रहेको छ। त्यसैगरी कुल बचत संकलन २ करोड २८ लाख ७४ हजार १०० रुपैयाँ ३६ पैसा र शेयर पुँजी २२ लाख २६ हजार ८०० रुपैयाँ पुगेको छ।
संस्थाकी अध्यक्ष अस्मिता देवी कापडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले सहकारी सञ्चालनका क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपरे पनि शेयर सदस्यहरूको विश्वास र साथ नै संस्थाको प्रमुख मेरुदण्ड रहेको बताइन्। सदस्यहरूलाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक प्रविधिमा आधारित विभिन्न सेवाहरू सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले संस्थालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा हंसपुर नगरपालिका कृषि तथा सहकारी शाखाका प्रमुख राजीव कुमार यादव, एनएमबी बैंक हंसपुर शाखाका प्रमुख निखिल अग्रवाल, हंसपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष जय नारायण कापडी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झा, नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंह लगायतले सहकारीको महत्व, वित्तीय अनुशासन, बचतको आवश्यकता तथा सदस्यहरूको आर्थिक सशक्तीकरणका विषयमा आ–आफ्नो धारणा राखेका थिए।
त्यसैगरी संस्थाका उपाध्यक्ष राजकुमार सहनी, सचिव ललित कुमार मण्डल, कोषाध्यक्ष अमिरका देवी कापडी, सञ्चालक समिति सदस्यहरू कविता देवी चौधरी, अरविन्द कुमार साह र उषा देवी कापडी, लेखा सुपरिवेक्षण समिति संयोजक राजेन्द्र कुमार झा, सदस्यहरू रिना देवी कापडी र निरसी देवी, ऋण उपसमिति संयोजक रामस्नेही राउत, सदस्यहरू गणिता देवी कापडी र सविता कुमारी मण्डल, वरिष्ठ सहायक सावित्री कुमारी शर्मा तथा संस्थाका पूर्व अध्यक्ष विजय कुमार कापडीलगायत शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
साधारण सभाले संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, प्रगति तथा आगामी कार्ययोजनाबारे छलफल गर्दै सदस्यकेन्द्रित सेवा, बचत सुरक्षाको प्रत्याभूति र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको थियो।
जनज्योति सहकारीले वित्तीय क्षेत्रमा मार्यो ठूलो फड्को..
धनुषाको हंसपुर नगरपालिकामा वित्तीय क्षेत्रमा क्रियाशील सहकारी संस्थाहरूमध्ये जनज्योति बचत तथा ऋण सहकारी संस्à¤..
9 घन्टा पहिले
कमेन्ट गर्नुहोस्