`

जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सम्पन्न

2 घन्टा पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम, वैशाख १३
छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालित सामुदायिक कुकुर बन्ध्याकरण तथा निःशुल्क रेविज खोप शिविर सम्पन्न भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर को प्राविधिक सहयोगमा वैशाख ११ गतेदेखि सुरु भएको शिविर आईतवार सम्पन्न भएको हो।
शिविरमा २३० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएकोमा अपेक्षाभन्दा बढी २३४ कुकुरको सफलतापूर्वक बन्ध्याकरण गरी रेविज विरुद्धको खोपसमेत लगाइएको पशुपंक्षी विकास शाखाले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै नगर प्रमुख मनोज कुमार साह ले छाडा कुकुरको बढ्दो समस्याले मानिस तथा पशुपन्छीमा जोखिम बढाउँदै लगेकाले यसलाई नियन्त्रण गर्न बन्ध्याकरण कार्यक्रम प्रभावकारी उपाय भएको बताए। उनले पशु स्वास्थ्य अधिकार सम्बन्धी कानुनी व्यवस्थाअनुसार कुकुर मार्न नमिल्ने भएकाले यस्तो मानवीय विधि अपनाइएको उल्लेख गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।
त्यस्तै, पशुपंक्षी विकास शाखाका डा. अमर कुमार साह ले सामुदायिक कुकुरको संख्या घटाउन तथा रेविजको जोखिम न्यून गर्न नियमित रूपमा यस्ता शिविर सञ्चालन गरिने जानकारी दिए।
छाडा कुकुरले बालबालिकालाई झम्टिने, रातिको समयमा आवतजावतमा असहजता सिर्जना गर्ने, साना पशुचौपायामा आक्रमण गर्ने र सडक दुर्घटनासमेत निम्त्याउने समस्या बढ्दै गएको स्थानीयवासीले बताएका छन्।
कानुनी प्रावधानअनुसार कुकुर मार्न नपाइने भएकाले बन्ध्याकरण र खोप नै दीर्घकालीन रूपमा प्रभावकारी समाधानका रूपमा लिइएको छ।

`
12 comments
जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप श..

जनकपुरधाम, वैशाख १३ छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगर..

2 घन्टा पहिले