बालक हत्या प्रकरण : मुख छाडेको निहुमा छुरा प्रहार, पाँच जना पक्राउ
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa
विराटनगर । झापाको दमक नगरपालिका – १० आमवाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । छठको मेला हेर्न मोरङ र झापाको सीमानामा पर्ने मावा खोलामा आएको बेला आइतबार राति उनीमाथि छुरा प्रहार भएको थियो । उपचारका क्रममा उनको सोमबार विहान मृत्यु भएको हाे । श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १८ वर्ष मुनीका पाँच किशाेरलाई पक्राउ गरेकाे हाे ।पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका– ६ चन्द्रमा चौक बस्ने १७ वर्षीय बस्नेत, सोही वडाको वानडाँडा बस्ने १७ वर्षीय खवास, तामाङ, पानीट्यांकी बस्ने १६ वर्षीय माझी र तरूण चौक बस्ने १६ वर्षीय खत्री थरका युवक छन् ।पक्राउ परेकाहरुले पूर्व रिसिईवी र मेलामा मुख छाडेको निहुमा छुरा प्रहार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।उर्लाबारी नगरपालिका वडा– ७ स्थित मावा खोला किनारमा छुरा प्रहार भएपछि घाईते भएका उनलाई गोदावरी अस्पताल उर्लाबारीमा भर्ना गरिएको थियो । तर उपचार सम्भव नभएपछि वि.एण्ड.सि. अस्पताल विर्तामोड पठाइयो । विर्तामोडमा उपचारको क्रममा आज विहान करिब ५ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।प्रहरीका अनुसार श्रेष्ठको कोख मुनी छुरा प्रहार भएको थियो । ‘यिनीहरुबीच पुरानै चिनजान देखिन्छ, मेलामा भनाभन भएपछि छुरा प्रहार भयो,’ प्रहरी स्रोतले भन्यो,‘ पुरानै रिस पनि देखिन्छ ।’घटनामा ७–८ जनाको संलग्नता देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आक्रमण गर्ने समूहमा ७–८ जना थिए । श्रेष्ठ भने तीन जना साथीसँग मेलामा आएका थिए । मेलामा भेट भएपछि दुई समूहबीच भनाभनपछि कुटाकुट भएको थियो । सोही क्रममा ७–८ जनाको समूहले श्रेष्ठलाई छुरा प्रहार गरेको प्रहरीले बताएको छ । साभार : कोसी अनलाइन
कमेन्ट गर्नुहोस्