रुपन्देहीका पालिकाहरुमा ६९ करोड बढी बेरुजु, बुटवलमा सबैभन्दा धेरै
3 महीना पहिले प्रकाशित
Khojkhulasa


रुपन्देहीका १६ स्थानीय तहमा आर्थिक वर्ष २०८०/८१ मा ६९ करोड रुपैयाँ बढीको बेरुजु देखिएको छ । एक उपमहानगर, ५ नगरपालिका र १० वटा गाउँपालिकाको लेखा परीक्षणमा ६९ करोड २१ लाख बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । रुपन्देहीका १६ पालिकामध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै र कञ्चन गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । अघिल्लो वर्ष पनि बुटवलको बेरुजु लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये सबैभन्दा बढी थियो । जिल्लाका पालिकाहरुले नियम र परिधिभित्र बसेर खर्च गर्न नसक्दा बेरुजु देखिएको हो । पालिकाको बढ्दो बेरुजुले वित्तीय अनुशासन कमजोर रहेको देखिन्छ ।महालेखा परीक्षकको कार्यालयले तयार पारेको ६२ औं वार्षिक प्रतिवेदनमा मुलुकको कुल बेरुजु ७ खर्ब ३३ अर्ब पुगेको उल्लेख छ । कार्यालयका अनुुसार आव २०८०/८१ मा ९१ अर्ब ५९ करोड रुपैयाँ बेरुजु थपिएको छ । ६१ औं प्रतिवेदनमा ६ खर्ब ६९ अर्ब ८६ करोड बेरुजु कायम भएको थियो ।
ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका, धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिको काम पूर्णपारदर्शी तथा कानुन सम्मत देखिएकाले शून्य बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।१३९ वटा स्थानीय तहको भने १ प्रतिशतभन्दा कम बेरूजु छ । सबैभन्दा बढी बेरुजु सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको छ । यो पालिकामा एक अर्ब ६४ करोड रूपैयाँको लेखा परीक्षण गरिएकोमा २५ करोड ७७ लाख रूपैयाँ बेरुजु निस्किएको छ ।
कमेन्ट गर्नुहोस्