भौतिक मन्त्रालयको बजेटमा सयौँ खुद्रे आयोजना, १ लाखसम्मका दर्जनौं
1 महीना पहिले प्रकाशित
Khojkhulasa


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा १ लाख रुपैयाँसम्मका दर्जनौं खुद्रे आयोजना समेत समेटेको पाइएको छ ।
मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार स्थानीय सडक, पुल निर्माण अन्तर्गतमा अधिकांश स्थानीय र प्रदेश तहबाटै गर्न सकिने खुद्रे आयोजना समेटिएका छन् ।
भौतिक मन्त्रालयको रातो किताबमा राखिए अनुसार इलामको च्यामेमा कल्भर्ट बनाउन १ लाख रुपैयाँ विनियोजन गरिएको छ । सोलुखुम्बु दूधकोशी नदीमा मोटरेबल पुल बनाउन समेत १ लाख रुपैयाँ बजेट राखिएको छ ।
जिल्लाहरूमा राखिएका अधिकांश आयोजना ५ लाख रुपैयाँका धेरै छन् । बजेटअघि राष्ट्रिय योजना आयोगले ३ करोडभन्दा साना आयोजना संघीय मन्त्रालय मातहत नराखेको र आयोजनाको संख्या पनि भारी मात्रामा घटाएको तथ्यांक सार्वजनिक गरेको थियो ।
तर, विनियोजन केलाउँदा भौतिक र सहरी विकास मन्त्रालय मार्फत हजारौंको संख्यामा खुद्रे कार्यक्रम बजेटमा समावेश गरिएको देखिएको छ ।
रातो किताबमा उल्लेख भए अनुसार धनुषा जमुनी नदी पुलका लागि भौतिक मन्त्रालयले १ लाख बजेट विनियोजन गरेको छ । दोलखा ढाडेखोला, झाक्रे खोला, घट्टे खोला र चरङ्गे खोला पुलका लागि समेत १/१ लाख रुपैयाँ बजेट राखिएको छ ।
त्यस्तै नुवाकोट घट्टे खोला पुलमा १ लाख बजेट राखिएको छ । ललितपुर गोदावरी पुल र पुलको एप्रोच सडकका लागि समेत १/१ लाख बजेट विनियोजन गरिएको छ ।
कमेन्ट गर्नुहोस्