नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले यसपटक सभापतिमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन् । मङ्सिर २४–२७ गतेसम्म हुने महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका उपसभापति निधिको चर्चा मधेसमा सबैभन्दा बढी भइरहेको छ । २०७४ को प्रतिनिधिसभा चुनावमा धनुषा–३ बाट पराजित निधि यसपटक पार्टीकै सभापतिमा नै उम्मेदवारी घोषणा गर्नुले मधेसमा काँग्रेसको राजनीतिलाई तताएको छ । शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिन चाहेपछि उपभापति निधिले विद्रोह गरेका हुन् । योसँगै संस्थापन पक्षका मधेसका नेता कार्यकर्ता दुई (देउवा–निधि) गुटमा बाँडिएका छन् । संस्थापन पक्षका मधेसका केन्द्रीय नेताहरू देउवाको पक्षमा उभिएको अवस्था छ । सभापतिमा देउवा निधि आमने–सामने हुने अवस्थामा निधिलाई कसरी मत दिनेमा मधेसका नेताहरू अन्योलमा छन् । काँग्रेसभित्र मधेसमा आफ्नो जनाधार ठान्ने निधिसँग संस्थापन पक्षका नेता कार्यकर्ता खुलेर लाग्न सकेको अवस्था अहिलेसम्म छैन । संस्थापन पक्षकै नेताहरू निधिको पक्षमा खुल्न नचाहेपछि काँग्रेस संस्थापन इतर पक्षका नेताको पनि निधिप्रति झुकाव देखिएको छैन । लामो समय देउवा गुटको नेताको पहिचान बनाएका निधिलाई मधेसको साझा नेता बन्न कठिन छ । अझ देउवा पुनः सभापति बन्न मैदानमा उत्रिएपछि मधेसमै निधिको पक्षमा माहौला बन्न गाह्रो देखिएको छ । मधेसमा उनको पक्षमा खुलेर लाग्ने, बोल्ने नेता तथा कार्यकर्ता निकै कम छन् । प्रदेश २ का ८ जिल्लामध्ये धनुषा र पर्साका वर्तमान सभापति मात्र उनको पक्षमा खुलेर लागेका छन् । अरू पौडेल पक्ष वा देउवा पक्षका लागि माहौल बनाइ रहेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *