धनुषा । नेकपा माओवादी केन्द्रको गुट विवाद प्रदेश २ का तल्ला कमिटीहरूमा पनि देखिएको छ । प्रदेश २ मा नगर अधिवेशनका क्रममा गुट–उपगुटबीच विवाद हुँदा प्रदेश प्रतिनिधि चयन अन्योलमा परेको छ । माओवादीले मंसिर २५ मा प्रथम प्रदेश सम्मेलनको उद्घाटन गरी पुस ३ मा सर्लाहीको लालबन्दीमा बन्द सत्र गर्ने तयारी गरे पनि विवादका कारण प्रदेश प्रतिनिधिको अझै टुंगो लाग्न सकेको छैन । प्रदेश २ का आठै जिल्लामा पार्टी सदस्यता नवीकरण, स्थानीय तहको अधिवेशनमा असन्तुष्टि, नगर नेतृत्वमा महिला, मधेसी र दलित समुदायको सहभागितालाई लिएर विवाद छ । प्रदेशको नयाँ नेतृत्व चयन गर्ने प्रदेश प्रतिनिधिको संख्या र नामावली तयार हुन सकेको छैन । नगर अधिवेशन हुन नसकेको र प्रतिनिधि चयनको विवाद समाधान गर्न प्रदेश कमिटीले सप्तरीको रूपनीमा असन्तुष्ट पक्षलाई राखेर बिहीबार छलफल गरेको छ । विवाद मिलाउन केन्द्रीय र प्रदेशस्तरबाट पहल भइरहेको माओवादीका नेताहरूले बताएका छन् । सप्तरीका १५ सहित प्रदेशका ३० स्थानीय तहबाट माओवादीका प्रदेश प्रतिनिधि चयन हुन सकेको छैन ।प्रदेश अधिवेशनका लागि शुक्रबार साँझसम्म ८ वटै जिल्लाबाट प्रदेश प्रतिनिधिको तथ्यांक माग गरिएको माओवादी प्रदेश २ का इन्चार्ज प्रह्लाद बुढाथोकीले बताए । बन्द सत्रमा प्रदेश प्रतिनिधि ६ सय जना, मनोनीत हुने १ सय जना, आयोजक मण्डलका १ सय जना र अन्य पार्टीका नेता गरी १ हजार प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए । ‘अन्तिम समयमा विवाद मिलाएर प्रतिनिधि सहभागी गराएर बन्द सत्र अगाडि बढाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘यहाँको विवाद मिलाउन पार्टीका केन्द्रीय नेताहरू पनि खटिएका छन् । विवाद समाधान नभएको जिल्ला छोडेर भए पनि बन्द सत्र अगाडि बढाइन्छ । विवाद कायम रहेको जिल्ला र स्थानीय तह अधिवेशनमा सहभागी हुनबाट वञ्चित हुनेछन् ।’प्रदेश २ मा देखिएको विवाद प्रदेशले आफैं मिलाउन नसके केन्द्रले हस्तक्षेप गर्ने तयारी गरेको छ । अन्य सबै प्रदेशमा माओवादी अधिवेशन भए पनि प्रदेश २ मा अझै भएको छैन । प्रदेश २ मा देखिएको विवादलाई लिएर माओवादी नेताहरू मातृका यादव, नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल र रामकुमार शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । उक्त छलफलमा सहभागी एक नेताका अनुसार विवाद समाधान गर्न केन्द्रले प्रदेशसँग समन्वय गर्नेछ । प्रदेश २ मा नारायणकाजी श्रेष्ठ र मातृका यादव गुट सक्रिय छन् । दुवै गुटबीचको विवादले गर्दा पार्टीको संगठन बन्न सकिरहेको छैन । श्रेष्ठ पक्ष प्रदेश कमिटी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयासमा छ भने यादव पक्ष चुनावको आन्तरिक तयारीमा छ । प्रदेश नेतृत्वका उम्मेदवारहरू भने अझै खुल्न सकेका छैनन् । बन्द सत्रको तयारी र प्रदेश कमिटी गठनबारे सुझावका लागि माओवादीको शुक्रबार सर्लाहीको लालबन्दीमा बैठक बस्दै छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *