काठमाडौंको कलंकीमा मंगलबार साँझ पठाओ स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भयो । कलंकीस्थित खसी बजारमा बसको ठक्करबाट पठाओ राइडर ३५ वर्षीय राम बहादुर आचार्य र पछाडि सवार बाँके घर भएका ५२ वर्षीय यादव कुमार साहको मृत्यु भएको थियो ।
काठमाडौंमा पठाओ दुर्घटनामा राइडर र यात्रुले ज्यान गुमाएको यो पहिलो घटना हो । सो दुर्घटनापछि मृतकका परिवारले पाउने क्षतिपूर्ति र बीमा रकमबारे प्रश्न उठेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूलाई क्षतिपूर्ति दिनेबारे छलफल भइरहेको नेपालस्थित पठाओको कार्यालयले जनाएको छ । राइडर र यात्रु दुवैको बीमा गरिएको जानकारी दिँदै नेपालस्थित पठाओ कार्यालयकी मार्केटिङ मेनेजर सुरक्षा हमालले भनिन्, ‘हामीले ५ लाखको बीमा गरेका छौं, सो रकम मृतकका परिवारलाई दिन्छौं ।’ कम्पनीले दुर्घटनामा घाइते हुनेहरुका लागि १ लाखको बिमा गरेको हमालले बताइन् । बसले ठक्कर दिँदा पठाओमा सवार दुईको मृत्यु ​सीता पेट्रोलपम्प नजिकै प्रदेश–३–०१–००५ख ९३०० नम्बरको बसले गलत तर्फबाट स्कुटरलाई ओभरटेक गर्दा दुर्घटना भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रदेश ३–०२–०१४प ७४६३ नम्बरको स्कुटरका राइडर हुन्, धादिङको ज्वालामुखी गाउँपालिका घर भएका राम बहादुर आचार्य । उनले कार्तिक २५ मा पठाओ कार्यालयमा आफ्नो स्कुटर दर्ता गराएका थिए । दक्षिण कोरियामा ५ वर्ष बसेर फर्केका उनले बाँसबारीस्थित मेनपावरको कार्यालयमा जाँदा आउँदा पठाओमा यात्रु ओसार्न सुरु गरेका थिए । ओम जनता यातायात प्रालिमा आवद्ध बसका चालक सुमन कार्कीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ । सिन्धुली घर भएका सुमनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अनिल घिमिरेले रातोपाटीलाई बताए । मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । ओम जनता यातायात प्रालिका संचालकले नेपाल बन्दको बेलामा कम्पनीको अनुमति बिना चालकले आफ्नै इच्छामा गाडी चलाएको भन्दै क्षतिपूर्ति दिन आनाकानी गरिरहेको पीडित पक्षले गुनासो गरेका छन् । राइडर राम बहादुर आचार्यका सहकर्मी वसन्त कुँवरले रातोपाटीसँग भने, ‘यातायात संचालकले गैरजिम्मेवार कुरा गरेर क्षतिपूर्ति दिनबाट आनाकानी गरिरहेका छन् ।’

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *