प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धनुषासहित देशभर सोमवार विरोध जुलुश प्रर्दशन गरेको छ । नेपाली कांग्रेस धनुषाले जनकपुरधाममा पनि विरोध जुलस प्रदर्शन गरेको हो । पार्टीका केन्द्रिय सदस्य एर्व पुर्व महामन्त्री प्रकाशमान सिंहको अगुवाईमा जनकपुरधामको पिडरीया माईस्थान स्थित पार्टी कार्यालयबाट निस्केको विरोध जुलुश मुरलीचौक, रामचौक, जनकचौक, शिवचौक र भानुचौक हुदै रेल्वे स्टेशन पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेता सिंहले सरकारको चर्को आलोचना गरेका छन् । सिंहले देशमा हत्या हिंसा र बलात्कारको घटना बढ्दै गएको र सरकारबाटै संरक्षण भएको आरोप लगाएका छन । वर्तमान सरकार जनताको हितमा केही काम गर्न नसकेको भन्दै सरकारलाई सरकारमा रहनुको कुनै अर्थ नरहेको बताए । वर्तमान सरकार संघियता र गणतन्त्र मास्ने खेलमा रहेको सिंहको आरोप छ । शान्ति सम्झौता पछि पटक पटक बामपन्थी सरकार बनेर पनि जनताले चाहेको संविधान बन्न नसकेपछि दोस्रो संविधानसभाका लागि चुनाव भएको र त्यस सभाले बनाएको कांग्रेस नेतृत्वको सरकार संविधान बनाउन सफल भएपछि पुनः बामपन्थी सरकार संविधान मास्ने खेलमा लागेको उनको तर्क छ । संघियता कार्यान्वयन भन्दा भ्रष्टाचार, हत्या हिंसा र अवैधानिक नियुक्तीहरु गरी संघियतालाई गलत देखाउने कुचेष्टा सरकारबाट भइरहेको नेता सिंहले बताए ।

भारत सरकारले निर्माण गरिदिएको रेल सञ्चालन गर्न पनि वर्तमान सरकार असफल भएको दाबी गर्दै नेता सिंहले भने,‘उहीले बनेको रेललाई ओली सरकारले सञ्चालनमा ल्याउने समय तोक्दा तोक्दै अहिलेसम्म सञ्चालन हुन सकेन । अहिले सम्म रेल सञ्चालन किन हुन सकेन?’ मधेशका लागि हुलाकी राजमार्ग आफ्नो बुबा गणेशमान सिंहले सुरुवात गरेको दाबी सिंहले गरे । नेता सिंहले वर्तमान सरकारले जनताका लागि ठोस कार्यक्रम गर्न नसकेको जिकिर गर्दै सरकार पूर्ण रुपमा असफल रहेको बताए । नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अगुवाईमा भएको सो विरोध प्रर्दशनमा प्रदेश २ का नेता रामसरोज यादव , सांसद स्मृती नारायण चौधरी सहित जिल्लाको विभिन्न क्षेत्रबाट कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उदघोषण नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *