सरकारले नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भएको बताएको हो । पछिल्लो समय मुलुकमा बढ्दो कोरोना सङ्क्रमणको दर र अस्पताल भर्ना हुने बिरामीको अनुपातले नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भइसकेको पुष्टि भएको सरकारले बताएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा देखिने गरेका कोरोना सङ्क्रमितहरुमा बेलायतमा देखिएको न्यू भेरिएन्ट जसलाई युके भेरिएन्ट समेत भनिन्छ र भारतमा देखिएको डबल म्युटेन्ट भाइरसपनि पुष्टि भएको हो । मन्त्रालयले भारतसँग जोडिएका सीमा नाकाहरुमा गर्ने गरेको नमूना परीक्षण र प्रयोगशालाहरुमा गरिने पिसिआर परीक्षणमा युके भेरिएन्ट र डबल म्युटेन्ट भेरिएन्ट फेला परेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भइसकेको भन्दै सबैलाई सचेत र सतर्क रहन आग्रह गर्नुभयो । यस्तै स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा कोरोनाको दोस्रो चरणको लहर राम्रोसँग समुदायस्तरमै फैलिसकेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको हो । महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा पछिल्लो समय गरिएको कोरोनाको आरटी पिसिआर र एन्टीजेन परीक्षणमा देखिएको कोरोना सङ्क्रमणले समुदायस्तरमै कोरोना फैलिसकेको बताउनुभयो । उहाँले मुलुकका विभिन्न शहरहरुमा कोरोना भाइरसको यूके भेरियन्टको संक्रमण फैलिएको भन्दै भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरिएन्ट अफ कन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेन्ट’ पनि पुष्टि भएको उल्लेख गर्नुभयो । मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा डा. पौडेलले पछिल्लो समय नेपालमा युके भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएको बताउनुभयो । जनवरी महिनाको पहिलो साता ४ प्रतिशत पिसिआर पोजेटिभमा एस जिन नेगेटिभ थियो, जुन मार्च महिनाको अन्त्यमा आइपुग्दा ७७ प्रतिशत पुगेको उहाँको भनाइ छ । उहाँका अनुसार एस जिन नेगेभिट भएकामध्ये अधिकांशमा यूके भेरिएन्ट पाइएको हो । एस जिन नेगेटिभ भएका १० वटा र एस जिन पोजेटिभ आएका ५ वटा नमुना जिन सिक्वेन्सिङका लागि हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । डा. पौडेलले एस जिन नेगेटिभ भएका १० मध्ये ९ वटा नमुनामा यूके भेरिएन्ट (बी.१.१.७) पुष्टि भएको बताउनुभयो । उनीहरु २१ देखि ५९ वर्ष उमेर समूहका थिए । जसमा ४ जना काठमाडौंका, २÷२ जना भक्तपुर र पोखरा तथा एक जना नुवाकोटका थिए भने दार्चुलाका एक व्यक्तिको नमुनाको जिन सिक्वेन्सिङ हुन सकेकोन । हङकङ पठाइएका एस जिन पोजेटिभ आएका ५ वटा नमुनामध्ये एकमा डबल म्युटेन्ट पुष्टि भएको पनि डा. पौडेलले बताउनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *