२०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सकिएपछि शनिबार उद्घाटन गरिँदैछ । काठमाडौँको सुन्धारास्थित धरहरा परिसरमा हुने विशेष कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान ११ बजे नवनिर्मित २२ तले धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको हो । भूकम्पले भत्किएको मुल धरहरा निर्माणको काम सकिएपछि उद्घाटन गर्न लागिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । भूकम्पका कारण भत्किएको ९ तले धरहराकै स्वरुपमा अहिले २२ तलाको धरहरा बनाइएको हो । शनिबार उद्घाटन भए पनि धरहरा सर्वसाधारणका लागि भने खुला हुन अझै केही महिना लाग्ने प्राधिकरणले जनाएको हो । जमिनमुनी २ तला र एक तला बराबरको सिँढीलाई जोड्दा धरहरा २५ तलाको भन्न मिल्ने प्राधिकरणका सचिव मणीराम गेलालले बताउनुभयो । धरहराको पूरा क्षेत्र ४२ रोपनीमा फैलिएको हो । धरहरा बाहेकका अन्य संरचना विस्तारै निर्माण हुँदै जाने पनि उहाँले बताउनुभयो । धरहरा वरपर पानीको फोहोरा सहितको बगैँचा, संग्रहालय, पार्किङ्ग, उपहार पसलहरु, सिनेमाघर सहितका पूर्वाधार बन्ने गेलालको भनाइ हो । नयाँ धरहरामा दुईवटा लिफ्टसमेत बनाइएको हो । २०७२ वैशाख १२ गतेको भूकम्पमा धरहरा भत्किँदा ६० जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *