जनकपुरधाम : जानकी मन्दिरमा एउटा चिम ७ लाख भन्दा बढी मुल्यमा लगाउने बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले त्यहाँ सोलार लगाउन गत आर्थिक वर्षमा नै झिकेको २० लाख रुपैयापनि झ्वाम्म पारेको छ ।

बृहत्तरको लेखा र प्राविधिक तथ्यांकमा जानकी मन्दिरमा २० लाख रुपैयामा सोलार जडान भएको देखिन्छ । सोलार जडान भएको कार्य सम्पन्न प्रतिवेदन बृहत्तरका ईञ्जिनियर रुपेश सिंहले दिइसकेका छन् । सो प्रतिवेदन अनुसार लेखापाल सावित्री गिरि र कार्यकारी निर्देशक बलराम ठाकुरले चेकबाट भुक्तानी समेत गरिसकेका छन् । तर जानकी मन्दिर अथवा त्यसको परिसरमा कतै सोलार जडान भएको साउन २० गते सम्म देखिएको छैन् ।

सोलार जडान नै नगरि प्रमुख ठाकुर, लेखापाल गिरि र ईञ्जिनियर सिंहले मिलोमतोमा हजम गरेका छन् । लेखापाल गिरिले विगतमा भ्रष्टाचार ढाकछोप गर्न बृहत्तरको लेखाफाँटका सम्पूर्ण कागजातहरु आगो लगाएर जलाएकी थिइन् ।त्यो प्रकरणमा तत्कालिन लेखा अधिकृत शम्भु साह लगायतका कयौं कर्मचारीहरुमाथि मुद्दा चलेको थियो ।

अधिकांश कर्मचारीहरु जागिरबाट हटाइएका थिए । तर गिरिले सर्वोच्चमा नाताको न्यायधिशको तजबिजबाट पूनःबहाली भएकी हुन् । स्रोतका अनुसार बृहत्तरमा बढदो आर्थिक अनियमिततालाई ढाकछोप गर्न फेरी कागजातहरु नष्ट गर्न सकिने संभावना ब्यापक छ । यस अघि बारहबिघामा माटो पुर्ने काममा आर्थिक अनियमितता गरिएको अभियोगमा लेखापाल उत्तम राज ढकाल निलम्बनमा परेका छन् ।

बृहत्तरमा स्थापनाकालदेखिको कयौं वर्ष सम्मको दुरुस्त तथ्यांक छैन् । बृहत्तरले अनधिकृत रुपमा जानकी मन्दिरमा बिद्युतीकरणको कामको नाममा १२ करोड खर्च भएको बताउँदै करोडौ आर्थिक अनियमितता गरेको छ । बृहत्तरका अध्यक्ष ईञ्जिनियर शालीग्राम सिंहलाई समेत जानकारी नगराई करोडौको काम भएको देखिन्छ ।

मन्दिरमा जडा नभएको एउटा चिमको मुल्य सात लाख भन्दा बढी परेको दावी बृहत्तरले गरेको छ । तर स्थानीय जानकारहरुका अनुसार नक्कली बिल बनाइ त्यसमा करोडौ आर्थिक अनियमितता भएको छ । जानकी मन्दिरले नियमित बिजुलीको बिल समेत भुक्तान गर्न लकडाउनमा समस्या परेको बताएको छ । पुरानो महसुल झण्डै १ करोड बक्यौता छ । तर मन्दिरको सहमति बेगर नै १२ करोडको चिम त्यसमा लागेको बिल भर्पाई बनाई बृहत्तरले रकम झिकेको देखिन्छ ।

प्रदेश सरकारबाट बृहत्तरले जानकी मन्दिर, बिबाहमण्डप, राम मन्दिर, राजदेवी मन्दिर, गंगा आरती, स्वर्गद्वार ९श्मसान घाट गंगासार०, सप्तरीको छिन्नमस्ता मन्दिर र बारा जिल्लाको गढीमाई मन्दिरमा विद्युतीकरण गर्ने प्रस्ताव पेशगरि १२ करोड रुपैया लिएको थियो । तर जानकी मन्दिरको भित्र र पूर्व तर्फ चिम मात्र लगाइएको छ ।

६ महिना बढी भइसक्दापनि चिम बलेको छैन् । चिम राख्न मन्दिरमा ड्रिलले गरेको प्वालबाट वर्षामा सुर्खी बग्न थालेको छ । जानकी मन्दिरलाई जानकारी नै नदिई त्यसको नाममा अनेक योजनाको नाममा बृहत्तरले पटकपटक रकम झिक्ने गरेको बताइन्छ । रकम झिकिएपनि मन्दिरमा काम नै गरिदैन् ।परिक्रमाको क्रममा समेत बृहत्तरमा ब्यापक आर्थिक अनियमितता हुने गरेको आरोप लाग्दै आएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *