४ पुस, धनगढी । कैलालीमा भएको २५ वर्षीय युवकको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला घटनाको ‘जिम्मेवारी’ लिएको एउटा शंकास्पद अडियो बाहिरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक झण्डै तीन मिनेटको अडियोमा मनोज नाम बताउने व्यक्तिले एक जनाको हत्या गरेको खुलाएका छन् । अडियोमा उनले भनेका छन्, ‘एक÷दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ ।’त्यतिकैमा अर्का व्यक्तिले कसको ? भनेर सोधेका छन् । जवाफमा उनले ‘जसको भएनी अलग छ । यति कुरा बुझ, जसमा कहाँ पुगिसकेँ’ भनेका छन् । घटनामा चिनजानकै व्यक्तिको संलग्नता छ, पहिचान भइसक्यो – विश्व अधिकारी, कैलाली प्रहरी प्रमुख मनोजले घाँटी अलग, शरीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्तिहरु पनि त्यहीँ भएको आवाज सुनिन्छ । एक जना व्यक्तिले आफू हत्यापछि सीमा पारि रुपैडिया पुगिसकेको र बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि सुनिन्छ । कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारी अडियोबारे छानविन गरिरहेको अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, ‘यो अनुसन्धानकै क्रममा रहेको विषय हो, यसबारे विस्तृत अनुसन्धानपछि बताउँछौं ।’प्रहरी स्रोतका अनुसार यो अडियो मृतकको श्रीमतीको मोबाइलबाट बरामद भएको हो । स्रोत भन्छ, ‘कसैले उनलाई पठाएको देखिएको छ, पठाउने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको छ ।’जानकी गाउँपालिका–९ को अरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शनिबार साँझ २५ वर्षीय अर्जुन दासको शव भेटिएको थियो । त्यसपछि उनको कपडा खोलेर त्यसैले शवलाई रुखमा बाँधेको पाइएको थियो । प्रहरीले यो घटनामा अर्जुनसँगै काम गर्ने व्यक्तिको संलग्नता हुनसक्ने अनुमान गरेको छ । र, हत्यामा कम्तिमा पनि २ जनाभन्दा बढीको संलग्नता हुनसक्ने बताएको छ । कैलालीका एसपी अधिकारीले उनको हत्यामा जानकी गाउँपालिकाकै स्थानीय तथा मृतकका चिनजानकै व्यक्तिको संलग्नता देखिएको र शंकास्पदको पहिचान भइसकेको बताए । उनले भने, ‘दासको हत्यामा ४÷५ जनाको संलग्नता छ भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ, केहीको पहिचान भइसकेको छ । खोजी कार्य जारी छ ।’अधिकारीका अनुसार हत्यामा लागूऔषध प्रयोगकर्ताको संलग्नता हुनसक्ने देखिएको छ । एसपी अधिकारीले दास हत्या कारण पनि लागुऔषध नै हुनसक्ने आशंका गरिएको बताए । यद्यपि, शंकास्पद व्यक्ति पक्राउ परेपछि मात्रै यसबारे तथ्य सतहमा आउने उनले बताए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *